सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने फिफा विश्वकपको फाइनल खेलका लागि टिकटको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। फिफाले भर्खरै सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार, फाइनल खेलको सबैभन्दा महँगो टिकटको मूल्य १०,९९० डलर (करिब १४ लाख ६० हजार नेपाली रुपैयाँ) पुगेको छ। यसअघि डिसेम्बरमा यसको मूल्य ८,६८० डलर तोकिएको थियो।
टिकटको माग अत्यधिक भएपछि फिफाले 'डायनामिक प्राइसिङ' (माग अनुसार मूल्य घटबढ हुने प्रणाली) लागू गरेको छ, जसको चौतर्फी आलोचना भइरहेको छ। अमेरिकी संसदका ६९ सदस्यहरूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पत्र लेख्दै यो नीतिले फुटबललाई "धनीहरूको मात्र खेल" बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन्। अर्कोतर्फ, 'सेकेन्डरी मार्केट' वा रिसेल साइटहरूमा फाइनलको एउटै टिकट ३५,००० पाउण्ड (करिब ६० लाख नेपाली रुपैयाँ) सम्ममा बिक्री भइरहेको रिपोर्ट सार्वजनिक भएको छ।
विश्वकपका सबै ४८ टोलीहरूको टुंगो लागिसकेपछि फिफाले टिकट बिक्रीको अन्तिम चरण खुला गरेको हो।