ल्हुती पुन्ही, म्हेपी जात्रा र बुङ्गमति करुणामयको सम्बन्ध

nepal news portal

ल्हुति पुन्हीको अवसरमा म्हेपी अजिमाको जात्रा विशेष रुपमा मनाइन्छ। बुढापाकाहरूको विश्वास अनुसार, म्हेपी अजिमा, फुसिंख्य: अजिमा र मनकामना देवीहरू आपसमा घनिष्ट सम्बन्ध भएका साथीको रूपमा चिनिन्छन्। यसैगरी, म्हेपी अजिमाको नुवाकोट भगवतीसँग पनि गहिरो ऐतिहासिक र धार्मिक सम्बन्ध पाइन्छ।

ल्हुति पुन्हीको अघिल्लो रात म्हेपी मन्दिरमा विशेष यज्ञ पुजा आयोजना गरिन्छ। यस क्रममा पहिलो चरणमा फुसिंख्य: तिर चिराग बालेर प्रकाश फैलाइन्छ र त्यसपछि नुवाकोट भगवती तर्फ चिराग बालिन्छ। यसरी चिराग बत्ति देखाइसकेपछि मात्र फुसिंख्य: र नुवाकोट भगवतीको विधिवत पुजा सुरु गरिन्छ। यसै अवसरमा म्हेपी अजिमाले हरिसिद्धि भैरव र खोकनाको सिकालीसँग १२ वर्षमा एक पटक मोहनी टिका ग्रहण गर्ने परम्परा रहेको छ।

म्हेपी अजिमाको ललितपुर बुङ्गमतिको करुणामयसँग चाहिं गहिरो सम्बन्ध रहेको पाइन्छ। मूर्ति मर्मत वा नयाँ मूर्ति निर्माणको लागि म्हेपीबाट माटो ल्याउने परम्परा छ, र यो कार्य १२ वर्षमा एक पटक गर्ने पर्ने चलन छ। जात्रा गर्दै बिशेष पुजा सम्पन्न गरी साइत हेरेर सुन वा चाँदीको कुटो कोदालोले खनेपछि मात्र फलामको अन्य कुटो कोदालो प्रयोग गरी माटो खन्ने परम्परा पालना गरिन्छ।

ऐतिहासिक दृष्टिले, बुङ्गमतिको करुणामय पुर्वजन्ममा म्हेपीमा नै सिद्ध भएको भनिन्छ । राजा नरेन्द्रदेवले भारतको आसामस्थित कामारुकामाख्यबाट करुणामय ल्याउँदा, बन्धुदत्त आचार्यले तन्त्र साधना गरी करुणामयलाई भंवराको रूप धारण गराई कलशभित्र राखेर नेपाल ल्याएका थिए। त्यस्तै समयमा म्हेपी अजिमालाई पनि साधना गरी स्थापना गरिएको भनिन्छ। करुणामयको मूर्ति निर्माणको लागि म्हेपीको माटो प्रयोग गरिएको थियो।

बन्धुदत्त आचार्यले अन्य स्थलहरूमा पनि म्हेपी स्थापना गरिएको पाइन्छ । दक्षिणकाली फर्पिंग (कुरुवा/कटुवाल दह) र स्वयम्भु स्तुपा नजिकको अग्निपुर–शान्तिपुर मार्गमा साधारण पर्खालभित्र राखिएको स्थान समावेश छन् । दक्षिणकाली फर्पिंगमा आमाको मुख हेर्ने एक दिन अघि राती करुणामयलाई मुख धुन पानी लिन जाने चलन रहेको छ। स्वयम्भुमा अवस्थित म्हेपीमा करुणामय जात्रा सञ्चालनको लागि साइत हेर्ने स्थान मानिन्छ । यस स्थानलाई नमसिं कौशी भन्ने गरिन्छ र बुङ्गमतिका मामाहरू यहाँ पुजा गर्न आउँछन्।