पाहाँचर्हे (पिशाच चतुर्दशी) : नेवार सभ्यताको सांस्कृतिक, धार्मिक र सामाजिक पर्व

nepal news portal

नेपालको समृद्ध सांस्कृतिक परम्पराभित्र नेवार समुदायका पर्व–उत्सवहरूले विशेष स्थान ओगटेका छन् । ती पर्वहरूमध्ये पाहाँचर्हे एक महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो । नेवार समुदायले हरेक वर्ष चैत कृष्ण चतुर्दशीका दिन अजिमा देवीहरू तथा लुकु महाद्यः (लुकेका महादेव) को पूजा गरी यो पर्व मनाउने गर्दछन् ।

यस दिनलाई “पिसाच चतुर्दशी” पनि भनिन्छ । “पाहाँ” शब्दको अर्थ पाहुना हो भने “चर्हे” को अर्थ पर्व वा उत्सव हो । यस पर्वको मुख्य विशेषता भनेको विवाह भई माइतीबाट टाढा गएका छोरी–बेटीलाई वर्षमा कम्तीमा एकपटक अनिवार्य रूपमा माइती घरमा निम्तो गरी भोज खुवाउने परम्परा हो । यसले पारिवारिक सम्बन्धलाई सुदृढ बनाउने मात्र होइन, समाजमा आत्मीयता र पारिवारिक एकताको सन्देश पनि दिन्छ । नेवार समुदाय बसोबास गर्ने स्थान, परिवेश र स्थानीय परम्परा अनुसार पाहाँचर्हे मनाउने तरिकामा केही भिन्नता देखिए पनि यसको मूल धार्मिक र सांस्कृतिक भाव भने उस्तै रहन्छ ।

अजिमासम्बन्धी किम्बदन्ती

पाहाँचर्हे पर्वसँग जोडिएको एउटा रोचक किम्बदन्ती पनि प्रचलित छ। किम्बदन्ती अनुसार सबै अजिमाहरूलाई दिदी बछला माजु (भुवनेश्वरी) ले भोजको निम्तो दिन्छिन् । तर उनले लुँती अजिमा (इन्द्रायणी) लाई भने झुक्याएर एक दिन पछिको निम्तो दिन्छिन् ।

निम्तोको दिन सबै अजिमाहरू भोजमा पुगेर रमाइलो गर्छन् । तर लुँती अजिमा भने त्यो दिन उपस्थित हुँदिनन्, किनकि उनलाई एक दिन पछिको निम्तो दिइएको हुन्छ । यसरी अजिमाहरूको भेटघाट र भोजको स्मरणस्वरूप असन क्षेत्रमा विशेष सांस्कृतिक परम्परा मनाइने गरिन्छ ।

यिनै अजिमाहरु अथात दिदी बहिनीहरु भेटघाट गर्ने र रमाइलो गर्ने सन्दर्भमा काठमाडौँको ऐतिहासिक बजार क्षेत्र असनमा पाहाँचर्हे पर्वको अवसरमा “खट जुधाउने” भन्ने विशेष परम्परा प्रचलित छ। नाम अनुसार खट (रथ) जुधाइने जस्तो भनिए पनि वास्तवमा खट चाहिं जुधाइँदैन । देव खलकहरूले बोकेर ल्याएको तीःप्वा मत (चिराग) लाई एक–आपसमा साटासाट गरेर सम्मान प्रकट गर्ने चलन रहेको छ। यस परम्परालाई “अजिमाहरूको भेटघाट” भएको प्रतीकात्मक रूपमा बुझिन्छ।

लुकु महाद्यः (लुकेका महादेव) को धार्मिक महत्व

लुकु महाद्यः अर्थात लुकेका महादेवलाई नेवार परम्परामा क्षेत्रपाल पनि भनिन्छ। घरको मूल ढोकाअगाडि स्थापना गरिएको देवतालाई क्षेत्रपाल मानिन्छ। जनविश्वास अनुसार क्षेत्रपालले घर तथा घर वरिपरिको क्षेत्रको रक्षा गर्ने गर्दछन् । यही क्षेत्रपाल स्वरूपका लुकु महादेवलाई वर्षमा एकपटक पूजा गरी काठमाडौँ उपत्यकाका बासिन्दाहरू पाहाँचर्हे पर्व मनाउने गर्दछन् ।

यस दिन घर अगाडि, चोक वा टोलहरूमा जमिनमुनि लुकेर राखिएका महादेवलाई बाहिर निकालेर सफा गरी साँझ विशेष पूजा गरिन्छ। यसरी लुकेका महादेवको पूजा गर्ने चलन विशेष गरी काठमाडौँका भित्री शहरहरूमा अझै पनि जीवित परम्पराका रूपमा कायम रहेको पाइन्छ।

नेपाल वर्ष नखः चखः पुस्तकमा उल्लेखित श्लोक

नेपाल वर्ष नखः चखः नामक ग्रन्थमा लुकु महादेवको पूजासम्बन्धी विषय महाकाल तन्त्रे शिववचन अन्तर्गत श्लोकका रूपमा उल्लेख गरिएको पाइन्छ।

लुकु महादेव पूजा महाकाल तन्त्रे शिववचन

फाल्गुन कृष्ण भूताहे नाम्नाभूत चतुर्दर्शी ।

तद्दिने शिवपूजांच सुरा मांसोपचारकस् ।। ४१ ।।

कज्जलं नेत्रयोर्दद्या द्वाय्यार्ते लोह मुद्रिका ।

पीठसेवा मपिकुर्यी भुतादि भय नाशनम ।। ४२ ।।

श्लोकको व्याख्या

फाल्गुन कृष्ण चतुर्दशीलाई भूत चतुर्दशी भनिन्छ ।  यस दिनको रात एक सुन्दर भूतको रूप लिएर आएका महादेवलाई एक तान्त्रिक आचार्यले देखे। उनले मन्त्रद्वारा उनलाई बाँधेर आफ्नै घरको आँगनको चोकमा मान–सम्मानका साथ पूजा गरे। त्यसपछि “प्रभुलाई के खाने इच्छा छ?” भनेर सोधे। भूत रूपी महादेवले “तिमीले जे खुवाउँछौ, त्यही खाने इच्छा छ” भनेर इच्छा प्रकट गरे।

त्यसपछि तान्त्रिक आचार्यले यो पक्कै महादेव नै हुनुपर्छ भन्ने विश्वास गर्दै लसुन, प्याज, छ्यापी, जाँड,            रक्सी, मासु लगायतका परिकार तयार गरे। साथै समेबजी, भटमास, अदुवा, माछा, अण्डा, बारा आदि सजाएर दोहलपा खाने थालमा तेल लगाई, आँखामा मोहनी टिका लगाएर भोजन ग्रहण गर्न बिन्ती चढाए । भूत रूपी महादेव प्रसन्न भएर तिमीले इच्छा गरेका सबै कार्य सफल होऊन् भन्दै पीठहरूको सेवा गर्न आदेश दिएर त्यहीँबाट अन्तर्ध्यान भए । त्यस समयदेखि तन्त्र–मन्त्र, डाकिनी–बोक्सी सम्बन्धी विद्या प्राप्त गर्न पीठहरूमा गई पूजा गर्ने चलन सुरु भएको मानिन्छ।

तान्त्रिक आचार्यको उपदेश

उक्त तान्त्रिक आचार्यले आफ्ना शिष्यहरूलाई यस विषयमा यसरी उपदेश दिएका थिए—

“हे शिष्यहरू, महादेवलाई खुसी पार्न तथा झारफुक विद्या सिद्ध गर्न श्मशानचक्र, भैरवगण र पीठचक्र स्थानहरूमा गई पीठ सेवा गर्नुपर्छ। यसो गर्नाले भूत, प्रेत, बोक्सी तथा डाकिनीहरू डराएर भाग्छन्।” यसै कारण चतुर्दशीको रात जमिनमुनि लुकेका महादेवको पूजा गर्ने चलन काठमाडौँका भित्री शहरहरूमा अझै पनि प्रचलित रहेको पाइन्छ।

अर्को किम्बदन्ती

अर्को किम्बदन्ती अनुसार सत्ययुगमा पार्वतीले महादेवलाई यसरी भन्नुहुन्छ --

“हे ईश्वर, तपाईं देवताका पनि देव महादेव हुनुहुन्छ। तपाईंको अर्धाङ्गिनी हुन पाउँदा म अत्यन्त खुसी छु। तर म विभिन्न रूप धारण गरी बेला–बेलामा मद्यपान र मासु ग्रहण गर्छु, तर तपाईंले भने यस्तो खानेकुरा कहिल्यै खानुहुन्न। त्यसैले मलाई अलि अप्ठ्यारो महसुस भएको छ।”

त्यसपछि महादेवले “त्यसो होइन” भन्दै कसैले नदेख्ने गरी लुकेर पिशाच रूप धारण गरेर मासु, मदिरा तथा विभिन्न लावाजन्य परिकार खाई पार्वतीलाई देखाउनु भयो । यही प्रसङ्गबाट लुकु महाद्यः को पूजा परम्परा सुरु भएको भन्ने जनश्रुति पाइन्छ ।

शास्त्रीय मान्यता र पूजा विधि

महाकाल तन्त्र अनुसार यस दिन लुकु महाद्यः लाई मासु, लसुन, रक्सी, थ्वं, लुँबु, बह बुँ आदि परिकार चढाई पूजा गरिन्छ।साथै बत्तीबाट बनेको कालो धुवाँबाट तयार गरिएको गाजल आँखा मा लगाई अष्टमात्रिका अजिमाहरूको दर्शन गरेमा सबै प्रकारका सिद्धि प्राप्त हुने विश्वास गरिएको छ। लुकु महादेवलाई अर्पण गरिएको बत्तीबाट बनेको गाजल आँखा मा लगाउने परम्परा अझै पनि चलनमा रहेको छ। यसरी गाजल लगाउँदा आँखा तेजिलो हुने जनविश्वास रहेको पाइन्छ।नेपाल भाषामा यस सम्बन्धमा एउटा उखान पनि प्रचलित छ— “धुँया मिखा काँ काँ छुँ या मिखा त्यला।

निष्कर्ष

पाहाँचर्हे केवल धार्मिक पर्व मात्र होइन, यो नेवार समुदायको सामाजिक, पारिवारिक तथा सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको पर्व हो। यसले परिवारभित्रको आत्मीयता, परम्पराप्रतिको सम्मान तथा समुदायिक एकताको भावना बलियो बनाउने काम गर्दछ। लुकु महाद्यःको पूजा, अजिमाहरूको सम्मान, तथा परिवारका सदस्यहरूलाई पुनः एकत्रित गराउने परम्पराले पाहाँचर्हेलाई नेवार सभ्यताको जीवित सांस्कृतिक सम्पदाका रूपमा स्थापित गरेको छ।