९ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले पदबाट राजीनामा दिएका छन्। विवादित व्यापारी दीपक भट्ट सँगको साझेदारी र सम्पत्तिबारे उठेका प्रश्नपछि उनले निष्पक्ष छानबिनका लागि पद छोडेको जनाइएको छ। सरकार गठन भएको मात्र २६ दिनमै यस्तो घटना भएको हो, जसले सरकारलाई दबाबमा पारेको छ।
प्रधानमन्त्री बालेन शाह ले तत्कालका लागि गृहमन्त्रालयको जिम्मेवारी आफ्नै मातहत राख्ने निर्णय गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार नयाँ व्यवस्था नभएसम्म मन्त्रालयको काम उनी स्वयंले सम्हाल्नेछन्।
गुरुङले केही दिनअघि सार्वजनिक गरेको सम्पत्ति विवरण अस्वाभाविक रहेको भन्दै प्रश्न उठ्दै आएका थिए। साथै माइक्रो इन्स्योरेन्स लगायतका क्षेत्रमा गरिएको थप लगानीबारे विवरण बाहिरिएपछि विवाद चर्किएको थियो। उनले सञ्चालन गरेको ‘हामी नेपाल’ नामक सामाजिक संस्थामा आएको सहयोग रकम व्यक्तिगत खातामार्फत कारोबार गरेको आरोपसमेत लागेको छ।