कम्बोडियाको 'स्क्याम सेन्टर'बाट ७ नेपालीको उद्धार: आज स्वदेश आइपुग्दै

nepal news portal

काठमाडौँ — वैदेशिक रोजगारीको आकर्षक प्रलोभनमा परी कम्बोडियाका अवैध 'अनलाइन स्क्याम' केन्द्रहरूमा बन्धक बनाइएका सात जना नेपाली नागरिकको सफलतापूर्वक उद्धार गरिएको छ।

थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावास, कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघ (NRNA) कम्बोडियाको संयुक्त प्रयासमा उनीहरूलाई कष्टकर अवस्थाबाट मुक्त गरिएको हो।

उद्धार गरिएका ती नेपालीहरू चैत २२ गते कम्बोडियाबाट प्रस्थान गरिसकेका छन् र आज चैत २३ गते सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ।

यी नेपालीहरूलाई मानव तस्करहरूले उच्च तलब र सेवा सुविधाको झुटा आश्वासन दिँदै भिजिट भिसामा कम्बोडिया पुर्‍याएका थिए।

त्यहाँ पुग्ने बित्तिकै उनीहरूको राहदानी खोसेर बाहिरी संसारसँगको सम्पर्क विच्छेद गराइएको थियो।

चिनीया तथा अन्य अन्तर्राष्ट्रिय गिरोहको नियन्त्रणमा रहेका उनीहरूलाई जबरजस्ती अवैध अनलाइन ठगी र क्यासिनो सम्बन्धी काममा लगाइएको थियो भने कतिपयलाई भिसा अवधि सकिएपछि पनि अवैध रूपमा बस्न बाध्य पारिएको थियो।

पीडितहरूले आफूहरू जोखिममा रहेको जानकारी गराएपछि राजदूतावासले कम्बोडियाली अधिकारीहरूसँगको समन्वयमा उनीहरूलाई सुरक्षित स्थानमा सार्ने प्रबन्ध मिलाएको थियो।

राहदानी नभएकाहरूको हकमा दूतावासले निःशुल्क एकतर्फी 'ट्राभल डकुमेन्ट' जारी गरेर स्वदेश फिर्तीको प्रक्रिया सहज बनाएको हो।

दक्षिण–पूर्वी एसियाली देशहरूमा नेपाली युवाहरूलाई ठगीको काममा लगाउने गिरोह सक्रिय रहेकाले दूतावासले कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता मुलुकमा भिजिट भिसामा गएर काम गर्ने प्रलोभनमा नपर्न चेतावनी दिएको छ।

प्रशासनले वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रूपमा सरकारको श्रम स्वीकृति लिएर मात्र जान र समस्यामा परेकाहरूलाई तुरुन्त सम्पर्क गर्न अपिल गरेको छ।