धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा सार्वजनिक जग्गा खाली गराउने तयारीपछि सुकुम्बासी बस्तीका स्थानीय आन्दोलित बनेका छन्। नगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेपछि शुक्रबार बिहान सुकुम्बासीहरूले जनकपुर–ढल्केवर सडक अवरुद्ध गरेका हुन्। सडक अवरोधका कारण केही समय यातायात प्रभावित बनेको थियो।
आन्दोलनकारीहरूले वैकल्पिक व्यवस्थाविना हटाउन खोजिएको भन्दै विरोध जनाएका छन्। पछिल्लो समय सरकारले देशभर सार्वजनिक जग्गा संरक्षण अभियान तीव्र बनाएको छ। काठमाडौंसहित विभिन्न स्थानमा अनधिकृत संरचनामा डोजर चलाइएपछि अन्य जिल्लामा पनि जग्गा खाली गराउने प्रक्रिया अघि बढिरहेको छ। स्थानीय प्रशासनले वार्तामार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको जनाएको छ।