भूमिहीन तथा अव्यवस्थित बसोवासीद्वारा सरकारको ‘डोजर नीति’ विरुद्ध माइतीघरमा विरोध प्रदर्शन

nepal news portal

काठमाडौं — विकासका नाममा वैकल्पिक व्यवस्था विना नागरिकलाई विस्थापित गरिने सरकारी कदमविरुद्ध भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूले राजधानीमा प्रदर्शन गरेका छन्। काठमाडौंका विभिन्न स्थानबाट विस्थापित भएका पीडितहरू संगठित रूपमा माइतीघर मण्डलामा भेला भई सरकारको ‘डोजर नीति’ विरुद्ध विरोध जनाएका हुन्।

प्रदर्शनकारीहरूले सरकारको पछिल्लो कदमलाई मानव अधिकारको गम्भीर उल्लंघनको संज्ञा दिँदै तत्काल पुनर्वास तथा उचित व्यवस्थापनको माग गरेका छन्। उनीहरूले “मानव अधिकारको रक्षा गर” र “पहिले व्यवस्थापन, त्यसपछि मात्र विस्थापन” जस्ता नारा लगाउँदै शान्तिपूर्ण प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा उनीहरूले भाँडाकुँडा ठटाउँदै सांकेतिक रूपमा आफ्नो भोक, पीडा र असन्तोष व्यक्त गरेका थिए। वैकल्पिक व्यवस्था बिना कुनै पनि प्रकारको विस्थापन स्वीकार्य नहुने उनीहरूको अडान रहेको छ।

स्थानीय तह र संघीय सरकारबीचको प्रभावकारी समन्वय अभावका कारण सुकुमवासी तथा भूमिहीन समुदाय बारम्बार प्रभावित हुँदै आएको भन्दै प्रदर्शनकारीहरूले अबको संघर्ष निर्णायक हुने चेतावनी दिएका छन्। उनीहरूले समस्या समाधानभन्दा पनि जबरजस्ती डोजर चलाएर समस्या दबाउने प्रवृत्तिले सरकारको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।