एकातिर नेपालमा मेटा, गुगलजस्ता विश्वप्रसिद्ध प्रविधि कम्पनीका डेटा सर्भर भित्रिने सम्भावना र चोभारलगायत क्षेत्रमा बहुराष्ट्रिय डेटा सेन्टर स्थापना हुने चर्चा भइरहेका छन्। डिजिटल पूर्वाधार विस्तारलाई आर्थिक अवसरका रूपमा हेरिएको छ। तर अर्कोतर्फ यस्ता डेटा सेन्टरले वातावरण र स्थानीय समुदायमा पार्न सक्ने प्रभावबारे पर्याप्त बहस र अध्ययन हुन सकेको छैन।
हालै अमेरिकाको एरिजोना स्टेट युनिभर्सिटी (ASU) ले सार्वजनिक गरेको अध्ययनले डेटा सेन्टरहरू शहरी तापक्रम वृद्धि गराउने प्रमुख कारकमध्ये एक बन्न सक्ने संकेत दिएको छ। अध्ययनअनुसार हजारौं सर्भर सञ्चालन गर्न आवश्यक विद्युतको ठूलो हिस्सा अन्ततः फोहोर ताप ऊर्जामा रूपान्तरण हुने गर्छ।
फिनिक्स क्षेत्रमा रहेका ठूला हाइपरस्केल डेटा सेन्टरहरूको अध्ययन गर्दा ती संरचनाबाट उत्सर्जित ताप ऊर्जा हजारौं घरबाट निस्कने तापभन्दा बढी रहेको पाइएको छ। यो ताप सिधै वायुमण्डलमा हराउने नभई स्थानीय हावाको बहावसँगै वरपरका बस्तीमा फैलिने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्।
विशेषगरी एयर–कूल्ड प्रणाली प्रयोग गर्ने डेटा सेन्टरहरूले बाहिर निकाल्ने हावा वरपरको वातावरणभन्दा उल्लेखनीय रूपमा बढी तातो हुने देखिएको छ। यसका कारण नजिकका आवासीय क्षेत्रमा तापक्रम वृद्धि हुने र गर्मीको असर झन् तीव्र बन्ने जोखिम देखिएको अध्ययनले जनाएको छ।
तापक्रम बढ्दा घर तथा कार्यालयमा एयर कन्डिसनरको प्रयोग बढ्छ, जसले थप ऊर्जा खपत र विद्युत् माग सिर्जना गर्छ। यसबाट पुनः थप ताप उत्सर्जन हुने भएकाले गर्मीको चक्र अझ गहिरिने खतरा रहन्छ।
कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै आगामी वर्षहरूमा विश्वभर डेटा सेन्टरहरूको संख्या र क्षमता उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ। त्यसैले विज्ञहरूले हरित क्षेत्र विस्तार, उन्नत शीतलीकरण प्रविधि र उपयुक्त शहरी योजना बिना डेटा सेन्टर विस्तार गर्दा वातावरणीय चुनौती थप जटिल बन्न सक्ने चेतावनी दिएका छन्।
डिजिटल अर्थतन्त्रको आधार मानिएका डेटा सेन्टरहरू अब केवल प्रविधि र लगानीको विषय मात्र नभई ऊर्जा, वातावरण र जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको मुद्दाका रूपमा पनि हेरिन थालेका छन्।