सन् २०२६ को फिफा विश्वकप उद्घाटन समारोहमा विश्वप्रसिद्ध गायिका शकिरा र नाइजेरियाली सुपरस्टार बर्ना ब्वायले संयुक्त प्रस्तुति दिने भएका छन्। फिफाले सार्वजनिक गरेको जानकारीअनुसार उनीहरूले विश्वकपको आधिकारिक गीत ‘डाइ डाइ’ पहिलो पटक प्रत्यक्ष रूपमा प्रस्तुत गर्नेछन्।
जुन ११ मा मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टाडियो सियुदाद दे मेक्सिको (पूर्व एस्टाडियो एज्टेका) मा आयोजना हुने उद्घाटन समारोह खेल सुरु हुनुभन्दा ९० मिनेटअघि सुरु हुनेछ। समारोहमा शकिरा र बर्ना ब्वाय मुख्य आकर्षण रहनेछन्।
उद्घाटन कार्यक्रममा मेक्सिकन तथा अन्तर्राष्ट्रिय संगीत क्षेत्रका चर्चित कलाकार अलेजान्द्रो फर्नान्डेज, माना, जे बाल्भिन, बेलिन्डा, ड्यानी ओसियन, लिला डाउन्स, लस एन्जेलस अजुलेस तथा टायला समेत सहभागी हुने जनाइएको छ। यी कलाकारहरू विश्वकप २०२६ को आधिकारिक सांगीतिक एल्बमसँग आबद्ध छन्।
फिफाका अनुसार ‘डाइ डाइ’ केवल विश्वकपको आधिकारिक गीत मात्र नभई फिफा ग्लोबल सिटिजन एजुकेसन फन्डको प्रमुख अभियान गीत पनि हो। यस अभियानमार्फत प्रतियोगिता सम्पन्न हुँदासम्म १० करोड अमेरिकी डलर संकलन गरी विश्वभरका बालबालिकालाई गुणस्तरीय शिक्षा र खेलकुदका अवसर उपलब्ध गराउने लक्ष्य राखिएको छ।
कोलम्बियाकी गायिका शकिराको विश्वकपसँगको सम्बन्ध निकै पुरानो छ। उनले सन् २००६ को जर्मनी विश्वकपमा ‘हिप्स डोन्ट लाइ–बाम्बु’, सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा चर्चित ‘वाका वाका (दिस टाइम फर अफ्रिका)’ तथा सन् २०१४ को ब्राजिल विश्वकपमा ‘ला ला ला’ प्रस्तुत गरेकी थिइन्।
यसपटकको विश्वकपको फाइनल खेल जुलाई १९ मा अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ, जहाँ शकिराले म्याडोना र बीटीएससँगै हाफटाइम शोमा समेत प्रस्तुति दिने कार्यक्रम रहेको छ। मेक्सिकोले आयोजना गर्ने उद्घाटन समारोहपछि क्यानडा र संयुक्त राज्य अमेरिकामा पनि विशेष सांगीतिक कार्यक्रमहरू आयोजना गरिने फिफाले जनाएको छ।